मंसिर १८ ,काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे ।पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए ।उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।
पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए । उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् ।
२३ वर्षीय एमबाप्पेको यो आठौं विश्वकप गोल हो ।एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो ।


