संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक वर्षमा ‘एक सय एक’ काम गरेको बताउनु भएको छ । आज सिंहदरबारस्थित पत्रकार सम्मेलन आयोजना गरी मन्त्री किरातीले आफूले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “पद सम्हाल्दा धेरै चुनौती देखेको थिए । सुधारको प्रयास गरेको छु । अबको मुख्य काम नीतिगत र संरचनागत सुधार नै हो” पदबहालीकै दिन माला खादा नलाउने र दुई देशबिचको सम्झौता हुने अवसरमा बाहेक विदेश नजाने घोषणा गरेका मन्त्री किरातीले स–साना कामबाट सकारात्मक सुधारको थालनी गर्नु भएको छ ।
मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउने आफ्नो अठोट निरन्तर रहेको उल्लेख गर्नु भयो । उहाँले निकै कमजोर अवस्थामा रहेको निगमको अवस्था सुधारेर निगमको धुमिलिएको शाखलाई उँचो बनाउन प्रयास गर्ने उद्घोष गर्नु भएको छ ।
पर्यटनमन्त्री किरातीले निगमको संरचनागत सुधार र प्रतिस्पर्धी बजारमा व्यावसायिक फड्को मार्ने गरी केही कार्ययोजना अगाडि बढाइएको जानकारी दिनु भयो । उहाँले निगमको आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको बताउनु भयो । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी जहाज भाडामा ल्याउने र क्षेत्रीय उडानका लागि साना जहाज पनि सोही प्रक्रियाबाट ल्याउने गरी काम सुरु गरिएको छ। वर्षौंदेखि ग्राउण्डेड चिनियाँ जहाजको बिक्रीका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्रीको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै काठमाडौँबाट अष्ट्रेलियाको सहर सिड्नी उडानको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार निगमको ऋणको साँवा र ब्याजबापतको करिब रु चार अर्ब किस्ता भुक्तानी गरिएको छ ।
पर्यटनमन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको बताउनु भयो । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको मन्त्री किरातीको भनाइ छ।
उहाँले श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्री किरातीले बताउनु भयो ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ ।


