नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारले सबैको विश्वास जितेको बताउनु भएको छ । प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएकोछ, सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ उहाँले भन्नुभयो ।
राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबिच शनिवार काठमाडौँमा भएको अन्तरक्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुन नसक्ने बताउनु भयो ।
उहाँले संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको बताउनु भयो। उहाँले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबिच सहकार्यको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले राष्ट्रियसभामा सात वटै प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताउनु भयो । ठुलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर ८ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशहरूको स्वार्थको प्रतिनिधित्व गर्ने जानकारि गराउनु भयो ।
राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । बागमतीको चार सिटका लागि सत्ता गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन् ।


