आज फागुन १ गते अर्थात जनयुद्ध दिवस । नेकपा माओवादीका सबै घटकहरूले आज विभिन्न कार्यक्रम गरी आज जनयुद्ध दिवस मनाउँदैछन्।
२०५२ फागुन १ गतेदेखि २०६३ मंसीर ५ गतेसम्मको अवधि नेपाली राजनीतिक आन्दोलनको इतिहासमा सर्वाधिक महत्वपूर्ण काल मानिन्छ। यस अवधिमा नेपालमा एउटा ठूलो उथलपुथलपूर्ण क्रान्ति भयो, जुन जनयुद्धका रुपमा स्थापित छ।
२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन्।
फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट नयाँ संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो । २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि माओवादीले संसदीय राजनीति गर्दै आएको छ।
गत वर्ष जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो।
यसवर्ष सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गरेको छ । विभिन्न मितिमा परेका ६ वटा रिटमाथि शुक्रबार सुनुवाई गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको हो ।
प्रधानमन्त्री प्रचण्डको शुभकामना
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।
जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए ।
जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहाल प्रचण्डले शुभकामना सन्देशमा बताएका छन्।

“जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ”, शुभकामना सन्देशमा उनले भनेका छन्, “सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।”
जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।


