सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।
उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि राजीनामा दिएर सडकमा गई आन्दोलन गर्न जवाफ दिएका छन् ।
सांसद शाहिले २ जनाको मृत्यु भएको १३ पुसको बालकुमारी घटनालाई प्रधानमन्त्री स्वयंमले हत्या भनेको उल्लेख गर्दै हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई कारबाही गर्न माग गरेका थिए ।
त्यसपछाडि बोलेका माओवादी सांसद सापकोटाले उनको प्रतिवाद गर्दै ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन’ उनले भने, ‘संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’ विद्रोह गर्ने अधिकार रहेको, तर यही संसदमा बसेर संसद चल्न नदिन नमिल्ने सांसद सापकोटाले बताएका छन् ।


