नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज पदबहालीपछि उहाँले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । साथै उहाँले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताउनुभयो ।
मुुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवद्र्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले यही विषयमा नै मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
मुलुकको परराष्ट्र नीति स्वतन्त्रता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन कूटनीतिक दक्षता आवश्यक भएको बताउनुभयो ।
उहाँले आर्थिक कूटनीतिलाई महत्वका साथ अघि बढाउन ध्यान दिने तथा राजदूत नियुक्तिको मापदण्डलाई अझ राम्रो बनाउन र नियमित मूल्याङ्कन गर्ने व्यवस्थामा आफ्नो ध्यान जाने बताउनुभयो ।


