उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँगको भेटमा उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल-चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्दै उहाँले त्यसका लागि सिजाङ्ग सरकारले सहजीकरण गर्ने विश्वास गर्नुभयो ।
नेपाल र चीनबीच सन् १०१२ मा भएको चरनसम्बन्धी सम्झौताअनुसार पुनः चरन सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । नेपाल-चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । आगामी महिना नेपालमा आयोजना हुने लगानी सम्मलेनमा सिजाङ्ग सरकार, यहाँका लगानीकर्ता तथा व्यवसायीलाई आमन्त्रण गर्नुभयो । उहाँले काठमाडौँ-ल्हासा बस सेवा पुनः सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
राजनीतिक परिवर्तन पछाडि नेपाल तीव्र आर्थिक विकासको यात्रामा रहेको जानकारी दिँदै उहाँले वर्तमान सरकार आर्थिक विकासलाई तीव्र बनाएर जनतालाई सुख दिन क्रियाशील रहेको बताउनुभयो । राजनीतिक परिवर्तन, व्यवस्था र सरकारको स्थायित्वका लागि जनताको विश्वास जित्न आवश्यक रहेको जनाउँदै उहाँले त्यसका लागि विकास जरुरी रहेको उल्लेख गर्नुभयो ।
चीनले नेपालको आर्थिक विकासमा गरेको सहयोगका लागि आभार प्रकट गर्दै उहाँले हरेक सङ्कटका बेला चीनले गरेको सहयोग बिर्सन नसकिने बताउनुभयो । बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन तथा विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको जानकारी दिनुभयो ।
भेटमा सचिव वाङले नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा पूर्वाधार विकास तथा ल्हासा-काठमाडौँ बस सेवा पुनःसञ्चालन गर्न सकारात्मक रहेको बताउनुभयो । चौधवटा परम्परागत नाका क्रमशः खुल्दै जानेमा विश्वस्त हुन आग्रह गर्दै उहाँले मौसमी अवस्थालाई हेरेर उचित निर्णय लिइने विश्वास दिलाउनुभयो ।


