बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र सांसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरु गरिएको हो । बैठकमा बोल्नुहुँदै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाइदा लिन सक्ने बताउनुभयो । उहाँले क्षेत्रीय सङ्गठनमा भारतको बढी चासो भएको उल्लेख गर्नुहुँदै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बिमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताउनुभयो । उहाँले बिमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सांसद वाग्लेले आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरूमा बिमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।


