कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला केद्रबाट विपरीत निर्णय आएपछि बैठक स्थगित गरिएको हो । मुख्यमन्त्री शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसक्नुभएको थियो । अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको थियो, मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०/१२/२० गते कर्णाली प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेकोमा विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०/१२/२१ गते सारी प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन पुनः कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेको छु’, मुख्यमन्त्रीको पत्रमा भनिएको छ ।
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा (नेकपा एमाले)ले मुख्यमन्त्रीको पद पाउने निर्णय गरेका छन् । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।


