काठमाडौँको भद्रकाली मन्दिर परिसरमा चैत २४ गते राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारमा पर्ने भिक्षु हुन्, फुर्वा तामाङ लामा हुन् ।
उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए ।
प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरी अधिकृतहरूको जिकिर छ ।
गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ ।
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीका जवान हुन् । भुकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले भिड नियन्त्रणको सिद्धान्त विपरीत धार्मिक भेषमा रहेका फुर्वालाई लात्ता प्रहार गरेको प्रहरीको छानबिन निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा भन्छन्–‘लात्ता प्रहार गर्नु गलत भएको छ, त्यसमा संलग्नलाई विभागीय कारबाही सुरु गरेका छौं ।’
भिड नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मीले व्यावसायिकता भुलेर अमर्यादित क्रियाकलाप गरेको उपत्यका प्रहरी कार्यालयले सोमबार ब्रिफिङ गरेको छ । उपत्यकामा कार्यरत प्रहरी निरिक्षक र सोभन्दा माथिका अधिकृतलाई एआईजी दीपक थापाले प्रहरी प्रधान कार्यालयस्थित अडिटोरियम हलमा ब्रिफिङ गरेका हुन् ।


