सरकारले लगानीसँग सम्बन्धित एक दर्जन कानुनी प्रावधान संशोधनको तयारी गरेको छ ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा त्यसको वातावरण निर्माण गर्न ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटका क्रममा उहाँले उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको बताउनुभयो ।
अर्थ मन्त्रालयका अनुसार सहजताका साथ वैदेशिक लगानी भित्र्याउने उद्देश्यसहित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी र लगानी ऐन, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र प्राधिकरण ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, जग्गा अधिग्रहण ऐनका लगानीसम्बन्धी प्रावधानमा विद्यमान आवश्यकता अनुसारको परिमार्जन गर्न लागिएको हो ।
त्यस्तै वातावरण संरक्षण ऐन, विद्युतीय कारोबार ऐन, नागरिक उड्डयन प्राधिकरण ऐन, वन ऐनका प्रावधानमा पनि संशोधनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।


