उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताउनुभएको छ।
मङ्गलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो। उहाँले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो।
उहाँले सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने बताउनुभयो। परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवर्धनसहित व्यापारघाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको दाबी गर्नुभयो।
सरकारले मुलुक रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले परम्परागत रुपमा भन्दा पनि नयाँ सोचका साथ अर्थतन्त्रलाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो।


