काठमाडौं ,मंसिर १७
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुआत गरेको छ। बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो। चितवनले पनि सुरुआत राम्रो गर्न सकेको थिएन। तर, मध्यक्रमका सन्तोष कार्की र शरद भेष्वाकरले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि चितवनले जितसहित प्रतियोगिता सुरुआत गर्न सफल भयो।
३१ बल खेलेका सन्तोषले अविजित रहँदै सर्वाधिक २८ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे। शरद ११ रनमा अविजित रहे।
पहिलो पावर प्लमै चितवनले दुई ओपनर गुमायो। हसन इसाखिल १२, दीपक बोहरा सात रनमा पभिलियन फर्किएपछि चितवन दबाबमा परेको थियो। तर, लुक बेन्केनस्टाइनको २२ रनसँगै चितवन खेलमा फर्किन सफल भयो। १७ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी आउट भएलगत्तै कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा क्याच आउट भए।
काठमाडौंका शाहब आलमले सर्वाधिक तीन विकेट लिएपनि जितका लागि पर्याप्त बने। चार ओभर बलिङ गरेका उनले २० रन मात्रै दिए। ग्रेहार्ड इरास्मत र डन डाउथवेटले समान एक विकेट आफ्नो नाममा लेखाए।


