भ्रष्टाचार नियन्त्रणमा सक्रिय संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बलियो बनाउने गरी कानुन बनाउने तयारी भएको छ ।
भ्रष्टाचारको अनुसन्धानमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने’ गरी विधेयक संसदीय समितिबाट पारित भएपश्चात् अख्तियारको अधिकार क्षेत्र विस्तारको तयारी भएको हो ।
प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पारित भएको छ । समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा बनेको उपसमितिले तयार पारेको प्रतिवेदनसहित विधेयक पारित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाका अनुसार यो विधेयक संसद्को हिउँदे अधिवेशनको सुरूवातमै फुल हाउसमा लग्ने र कानुन निर्माण गर्नेगरी समितिले पारित गरेको हो । यस विधेयकले अख्तियारलाई थप पाँच वटा अधिकार दिँदै शक्तिशाली बनाउने प्रयास गरेको छ ।


