नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहित सङ्गठनका पदाधिकारी तथा सदस्यहरु नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालमा समाहित हुनुभएको छ ।
उहाँहरुलाई नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार एमालेमा स्वागत गर्नुभयो ।
नेता माधवकुमार नेपालसहितका नेताहरु एमालेबाट अलग भएर जाँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर समाजवादी प्रेस सङ्गठन जन्मेको थियो । सो सङ्गठनको अध्यक्ष सुवेदी संस्थापक हुनुहुन्छ । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र समाजवादी प्रेस सङ्गठनको अस्तित्व समाप्त भएको भन्दै सो सङ्गठनका पत्रकार चौतारीमा फिर्ता हुनुभएको बताउनुभएको छ ।
सुवेदी विभाजित भएर जानुअघि प्रेस चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्थ्यो । बागबजारमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष सुवेदीसहित सङ्गठनका उपाध्यक्ष सविन शर्मा, नरेन्द्र साउँद, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, माधव पौडेल, यज्ञराज थापा, शिवलाल सुवेदी, रमेश सुवेदी, लिजा क्षेत्री, प्रदीप पौडेल, एकिन्द्र आचार्य, स्मिता अधिकारी, सुशील भट्टराई, राजेन्द्र पोखरेललगायत प्रेस चौतारीमा फर्कनुभएको छ ।
कार्यक्रममा अध्यक्ष सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप लागेको धारणा राख्नुभयो । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण खानुपरेको उहाँले चर्चा गर्नुभयो ।
‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’ उहाँले भन्नुभयो ।
प्रेस सङ्गठनका ९० प्रतिशत पत्रकार प्रेस चौतारी नेपालको महाधिवेशन अगाडि नै आउने उहाँले जानकारी दिनुभयो । चौतारीले आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा सङ्गठनको महाधिवेशन तय गरिसकेको छ ।


