नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
निर्वाचित भएसंगै नवनिर्वाचित अध्यक्ष डा. भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराउनुभएको छ । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो । नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताउनुभयो । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उहाँले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताउनुभयो । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिनुभयो ।


