नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग भएको सम्झौता तोडेको बताउनुभएको छ। अझै पनि संविधान विरोधी गतिविधि गरिरहे सरकारले कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो।
आइतबार लमजुङको क्व्होँलासोंथर गाउँपालिका–५ सिङ्दीमा आयोजित गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दखल नगर्ने राजनीतिक दलसँग भएको सम्झौताको पूर्वराजाले उल्लङ्घन गरेको बताउनुभयो।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्ता गतिविधिलाई साथ नदिन सबै नागरिकलाई आग्रह गर्नुभयो। नेपाली जनताले रगत पसिना बगाएर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार सँधै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “जसले संविधान मिच्न खोज्छ, कानुन मिच्न खोज्छ, जनताको अधिकारमाथि धावा बोल्न खोज्छ, सरकारले सख्त कारबाही गर्छ।” उहाँले मुलुकको हित, जनताको हित, सङ्घीय लोकतान्त्रिक शासन प्रणाली र मुलुकको सम्बृद्धिका लागि सरकार सधैै लागि पर्ने बताउनुभयो।
यसअघि सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धरासायी भएको, उत्पादन रोकिएको, मुलुकको अधोगति भएका कारण नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठुला दल मिलेर दुई तिहाइको सरकार बन्नुपरेको प्रष्टाउनुभयो। उहाँले वर्तमान सरकार बनेपछिको आठ महिनामा समस्याको धेरै सुधार भइसकेको बताउनुभयो।


