काठमाडौं , असोज २७ कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ मा कतारविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रन बनाएको हो ।
नेपालका कप्तान रोहितले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन थपे । ४८–३ को स्थितिबाट रोहित र दीपेन्द्रले चौथो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।
तर, १५औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट भएसँगै नेपालको ब्याटिङ लय पुनः बिग्रिएको थियो । यी दुईबाहेक गुल्सन झाले आठ बलमा दुई छक्कासहित १६ रन बनाए । सोमपाल कामीले १४ र ओपनर आसिफ सेखले ११ रन जोडे ।
कतारका मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन विकेट लिए । मुहम्मद असिम र ओवाइस अहमेदको नाममा एक–एक विकेट रह्यो ।


