काठमाडौं, मंसिर १४
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई उनी–उनैको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालि द्वारा निर्मित यस सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन्। फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई अभिनयरत छन्।
यसै फिल्ममार्फत विमोचन दवाडी र जेसिका पोखरेल ले डेब्यु गरेका छन्। बाल कलाकारमा दिप्सन चिलवाल को समेत अभिनय देख्न सकिने निर्माण पक्षले जनाएको छ।फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा प्रस्तुत हुनेछन्।
निर्देशक घिमिरेकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले सहलेखन गरेका हुन्।
फिल्मका छायांकार बुद्ध थापा हुन्।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री तथा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता हुन्। लाइन प्रोड्युसर का रूपमा योगेश खतिवडा र विनोद कंडेल रहेका छन्।


