काठमाडौँ । पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ। पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली १९ ओभरमै सबै विकेट गुमाउँदै १६७ रनमै समेटियो।
कर्णालीका लागि मार्क वाटले सर्वाधिक ५९ रन प्रहार गरे भने नजिबुल्लाह जर्दनले २६, पवन सर्राफले १९, प्रियान्क पान्चलले १६, सोमपाल कामीले १३ तथा दिपेन्द्र रावतले १० रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक छुन सकेनन्।
बलिङतर्फ पोखरा एभेन्जर्सका रिसी धवन र धन्नजय लक्षणले घातक प्रदर्शन गर्दै समान तीन–तीन विकेट लिए। कुशल भुर्तेल, किरण ठगुन्ना र सन्दीप क्षेत्रीले एक–एक विकेट जोड्न सफल भए।
टस हारेर ब्याटिङमा उत्रिएको पोखराले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेटको क्षतिमा २०१ रनको विशाल योगफल बनाएको थियो। टीमका स्टार ब्याट्सम्यान एडम रोसिङ्टोले शानदार १०८ रनको शतकीय इनिङ खेले। उनका साथै जोसन रोयले ४६ रन, कुशल भुर्तेलले १८ रन र धन्नजय लक्षण २३ रनमा अविजित रहे।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए।
लगातार कमजोर प्रदर्शन गर्दै आएका कर्णाली याक्सले खेलिएको छ खेलमध्ये पाँच खेलमा हार बेहोर्दै अन्ततः प्रतियोगिताबाट बाहिरिनु परेको छ।


