काठमाडौं, मंसिर १९ । पुस १० गते रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘द ब्ल्यू लाइट’ ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले कथाको मनोवैज्ञानिक गहिराइ र पात्रहरूको उतार–चढाव संकेत गर्ने प्रयास गरेको देखिन्छ।
पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारहरू फिचर्ड छन्। तीमध्ये अभिनेत्री बेनिशा हमाल केन्द्रमा उभिएकी छन्, त्यो पनि तीन फरक–फरक रूपमा।
सबैभन्दा ठूलो आकृतिमा उनी सकारात्मक र प्रशन्न मुद्रामा देखिन्छिन्, जुन उनको जीवनप्रतिको आशालाई प्रतिनिधित्व गर्छ। अर्को लुकमा उनी तनावग्रस्त अवस्थामा रेलिङमा अडेस लगाउँदै सिगरेट समातेकी देखिन्छिन्, जहाँ दुवै हातमा थुप्रै औंठीहरू पहिरिएको छ। तेस्रो दृश्यमा उनी महेश त्रिपाठीसँग आमनेसामने बसेर संवाद गर्दै गरेको झल्को प्रस्तुत गरिएको छ।
पोस्टरमा ग्रिस्मा कटुवाललाई पनि आँसु भरिएका आँखासहित समावेश गरिएको छ, जसले कथामा भावनात्मक गहिराइ जोड्ने संकेत दिन्छ।
पोस्टरको निलो टोनले चलचित्रको नाम ‘द ब्ल्यू लाइट’ सँग मेल खाने वातावरण निर्माण गरेको छ। समग्रमा पोस्टरले आशा–निराशा, मनोवैज्ञानिक द्वन्द्व र उतार–चढावले भरिएको कथावस्तुको झल्को दिन्छ।
चलचित्रको निर्देशन बलिराम चौहानले गरेका छन्, र यो उनको डेब्यु निर्देशन हो। आगामी पुस १० गतेदेखि चलचित्र देशभर प्रदर्शनमा आउँदैछ।
फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मालाई देख्न सकिन्छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको यस चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ। फिल्मका सह–निर्माता रमन ग्रे रहेका छन्।चलचित्रको छायांकन नरेन्द्र मैनाली, मुख्य सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।


