काठमाडौं, मंसिर २२
आगामी माघ १६ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘परिवर्तन’को जर्सिङ पौवामा तीव्र गतिमा छायांकन भइरहेको छ। यस क्रममा गायक एसडी योगी र रेश्मा पुनको आवाज रहेको गीत ‘पाकेको चिउरी’को भिडियो सुटिङ गरिएको हो।
गीतमा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीले नृत्य प्रस्तुत गरिरहेका छन्। उनीहरुलाई चर्चित नृत्य निर्देशक रामजी लामिछानेले कोरियोग्राफ गरिरहेका छन् भने क्यामेरामा शिव ढकाल खटिएका छन्। गीतको शब्द मौसम अर्यालले लेखेका हुन् भने संगीत स्वयं गायक एसडी योगीले दिएका छन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेले मुख्य भूमिका निभाएका छन्। एक्सन–सस्पेन्स विधामा निर्माण भएको फिल्मलाई विजय केरूङले निर्देशन गरेका हुन्।
फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटीले गरेका छन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। यसमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र द्धन्द्व निर्देशन श्री श्रेष्ठको रहनेछ।
फिल्मको सुटिङ अन्तिम चरणमा पुगेसँगै निर्माण टिमले माघ १६ को आफ्नो निर्धारित रिलिज मिति कायम राख्ने तयारी गरेको छ।


