काठमाडौं, मंसिर २२
यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मङ्गले’ अन्तिम चरणको छायाङ्कनमा प्रवेश गरेको छ। दुई गीत बाँकी रहेका मध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को सुटिङ हाल धमाधम भइरहेको निर्माण टिमले जनाएको छ।
एसडी योगीको संगीत रहेको उक्त गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर छ भने हर्क साउदले शब्द लेखेका छन्। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्। भिडियोमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले क्लासिक बलिउड शैलीमा रोमान्टिक नृत्य प्रस्तुत गरिरहेका छन्। गीतको कोरियोग्राफी रोशन बिकेले गरेका हुन्।

गीतको छायाङ्कन निर्देशक अर्जुन तिवारीको निर्देशनमा सोमबार काठमाडौँको जर्सिङ पौवामा भइरहेको छ भने मंगलबार इन्द्रावती नदी किनारमा निरन्तरता दिइनेछ। निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायाङ्कन बाँकी छ, जसपछि फिल्मको सम्पूर्ण छायाङ्कन पूरा हुनेछ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता रामकृष्ण ढकाल हुन्। सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन्।
चलचित्रको निर्देशन प्रकु पाण्डेयले गरिरहेका छन् र कथा पनि उनकै लेखन हो। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्। फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायत कलाकारको पनि सहभागिता रहेको छ।


