अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसमेत ७ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले उनीहरूविरुद्ध भिजिट भिसा तस्करी गरेर भ्रष्टचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष मुद्दा दर्ता गरेको हो। भट्टराईको गाउँले बहिनी कविता पौडेल र जग्गा कारोबारीलाई पनि मुद्दा हालिएको छ। अख्तियारले भट्टराई, पौडेल र सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरेको छ।
त्यस्तै अख्तियारले अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध पनि मुद्दा हालेको छ। अध्यागमन अधिकृत अर्याललाई ८ लाख बिगो कायम गरिएको छ। ग्रीनलाइन होलिडेज प्रालि र कम्पनीका अध्यक्ष बालकृष्ण खड्कालाई पनि प्रतिवादी बनाएको छ। ग्रीनलाइन होलिडेज प्रालि र त्यस कम्पनीका अध्यक्ष खड्काविरुद्ध ३० लाख २० हजार बिगो तोकिएको छ। फेमली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई पनि अख्तियारले मुद्दा हालेको छ। उनीहरूविरुद्ध १० लाख ६० हजार बिगो मागदाबी गरिएको छ।
त्यस्तै ग्रीनलाइन होलिडेजका तत्कालीन सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध पनि मुद्दा चलाइएको छ। उनीविरुद्ध ३० लाख २० हजारको बिगो मागदाबी छ। भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुर पनि अख्तियारले तत्कालीन अध्यागमन कार्यालय प्रमुख भट्टराई, उनको बहिनी नाता पर्ने कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ।
भट्टराईविरुद्ध १ करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ। उनको बहिनी नाता पर्ने पौडेल र जग्गा करोबारी सुवेदीविरुद्ध पनि १ करोड ३ लाख ७९ हजार ६ सय विगो कायम गरिएको छ।


