काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक भइसकेको छ । बुवा–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको टिजर दर्शकले रुचाइरहेका छन् ।
प्रमोशनल सामग्री सार्वजनिक गर्न थालेको निर्माण टिमले केही दिनभित्रै चलचित्रको गीत पनि सार्वजनिक गर्ने तयारी गरेको छ । निर्माण टिमका अनुसार, सिनेमाको कथा बोल्ने मुख्य गीत गायिका बेनुका राईको स्वरमा रहेको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । विवाहपछि र दयाहाङको अभिनय यात्रामा व्यस्त भएसँगै उनी गायन क्षेत्रमा कम सक्रिय रहँदै आएकी छन् ।
बेनुकाको स्वर रहेको उक्त गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।
चलचित्रको लेखन तथा निर्देशन यम शेर्पाले गरेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस सिनेमाका सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।


