काठमाडौं , पौष ०९
माघ २३ गतेबाट प्रदर्शनमा आउने प्रेमकथानक नेपाली चलचित्र ‘कुमारी’ ले रिलिजअघि नै देशव्यापी सांगीतिक माहोल सिर्जना गर्ने तयारी थालेको छ। चलचित्रको प्रचार–प्रसारलाई नयाँ ढंगले अगाडि बढाउँदै निर्माण टिमले ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने घोषणा गरेको हो।
माघ १ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने कन्सर्ट शृङ्खलाअन्तर्गत दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरान मा कार्यक्रम आयोजना गरिनेछ। सबै कन्सर्टमा चलचित्रका गीतलाई लाइभ प्रस्तुत गर्दै केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ मञ्चमा उत्रिनेछन्। युवापुस्तामाझ लोकप्रिय केहरको प्रस्तुतीले चलचित्रप्रति दर्शकको चासो थप बढाउने अपेक्षा निर्माण पक्षको छ।
यसअघि सार्वजनिक भएका चलचित्रका गीत ‘कता छौ …’ र ‘तिमी बिना …’ ले राम्रो चर्चा पाइरहेका छन्। कन्सर्ट सुरु हुनुअघि नै लोक स्वाद मिसिएको अर्को नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। चलचित्रका सबै गीतमा केहरसिं लिम्बुको स्वर समेटिएको छ।
प्रेमकथामा सफल मानिने निर्देशक दिनेश राउत ले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ पछि ‘कुमारी’ निर्देशन गरेका हुन्। भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको चलचित्रले विशेषगरी युवा दर्शक वर्गलाई लक्षित गरेको देखिन्छ।
चलचित्रमा अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिँदैछन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेम को सहकार्यमा बनेको ‘कुमारी’ का निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका छन्। छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपाने ले गरेका हुन्।
डिजिटल वितरण मोशन पिक्चर्स ले गर्ने यस चलचित्रलाई काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशन ले हलसम्म पुर्याउनेछ।


