काठमाडौं , पौष ११ — अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलोपटक ‘फेक न्यु इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुने भएको छ। यस कार्यक्रमका लागि चर्चित पञ्जाबी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका छन्। उनी आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’ का कारण पञ्जाबी संगीतप्रेमीमाझ लोकप्रिय छन्।
गायक मिक्ससिंह जस नेपाल आएको जानकारी दिन बिहीबार साँझ लाजिम्पाटस्थित होटल मनास्लु मा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा बोल्दै उनले नेपाली दर्शकसँग प्रत्यक्ष रूपमा सांगीतिक प्रस्तुति दिन पाउँदा अत्यन्त उत्साहित रहेको बताए। उनले शनिबार साँझ ठमेलस्थित क्लब नोभा मा करिब चार घण्टा लामो लाइभ प्रस्तुति दिनेछन्, जहाँ पञ्जाबी भाङ्गडा नृत्यसहित १० वटा प्रस्तुति रहने जानकारी दिइयो।
यो पञ्जाबी पप नाइट को आयोजना स्किलमाण्डु नेपाल ले गरेको हो। कार्यक्रमका लागि सामान्य टिकट १ हजार रुपैयाँ, भिआइपी टिकट २ हजार रुपैयाँ र ग्रुप टिकट ५ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा मिक्ससिंह जसले नेपाली खाना, संस्कृति र पर्यटनप्रति आफ्नो रुचि व्यक्त गर्दै नेपाल भ्रमणलाई विशेष अनुभव बनाउने बताए। उनले भने, “‘सुनियान सुनियान’ गीतमा करिब ३० प्रतिशत प्रतिक्रिया नेपाली फ्यानबाट आएको थियो, त्यसैले नेपाल आउनु मेरो लागि अझ आकर्षक बन्यो।”
नेपाल बसाइँका क्रममा उनले पशुपतिनाथ दर्शन, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको अवलोकन र सम्भव भएमा सगरमाथा बेस क्याम्प भ्रमण गर्ने योजना रहेको पनि जानकारी दिए। मौसमले साथ दिए सगरमाथा हेर्ने सपना पूरा हुने आशा व्यक्त गरे।
मिक्ससिंह जसले आफू नेपाली गीतहरू पनि नियमित रूपमा सुन्ने गरेको र नेपाली संगीतप्रति गहिरो आकर्षण बढ्दै गएको बताए। आगामी दिनमा नेपालमै गीत छायांकन गर्ने, साथै नेपाली संगीतकार तथा गायक–गायिकासँग सहकार्य गर्ने चाहना समेत उनले व्यक्त गरे। संगीत पर्यटन प्रवद्र्धनको सशक्त माध्यम हुन सक्ने उनको बुझाइ छ र त्यसमा आफू योगदान दिन तयार रहेको पनि उनले बताए।


