नेपालगन्ज । यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई तीव्र बनाउने उद्देश्यले आयोजना गरिएको कन्सर्टमा हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो।
होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड केहर एन्ड द लुङा ले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए।
कन्सर्टमा गायक केहर सिं लिम्बुले चलचित्र ‘कुमारी’ का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरे। साथै उनका लोकप्रिय गीत ‘सरर’ र ‘बैगुनी’ ले दर्शकलाई थप उत्साहित बनायो। विशेष गरी चलचित्रको बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकारद्वय अबिशेक खड्का र आकृति राजभण्डारीले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठूलो साथ र हुटिङ पाएका थिए।

कार्यक्रमकै क्रममा निर्देशक दिनेश राउतले आफू सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्दै आएको उल्लेख गर्दै ‘कुमारी’ लाई एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने प्रयास गरिएको बताए।
नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा देशका अन्य सहरहरूमा पनि जारी रहने निर्माण पक्षले जनाएको छ। कन्सर्ट टिम माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुति दिने तयारीमा छ। साथै, माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिने बताइएको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको चलचित्र ‘कुमारी’ का निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। सुसन प्रजापति को छायाङ्कन रहेको चलचित्रमा सुप्रिम पराजुली को सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपाने को साउन्ड डिजाइन र साहस शाक्य को ब्याकग्राउन्ड स्कोर रहेको छ।
चलचित्रका सबै गीतमा केहर सिं लिम्बु को स्वर रहेको छ भने संगीत केहर एन्ड द लुङा का सदस्यहरूले दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङ ले लेखेका हुन्।


