काठमाडौं । “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना यथार्थमा परिणत हुँदै रघुजी फिल्म्सको ब्यानरमा दुई नयाँ नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक गरिएका छन्।
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी दुई चलचित्रले नेपाली सिनेमामा नयाँ सोच, फरक स्वाद र नवीन प्रस्तुति ल्याउने अपेक्षा गरिएको छ। निर्माण पक्षले दुवै चलचित्र २०८३ सालमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।

माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक सुरुवात गर्ने तयारी भए पनि केही अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन। तर, टिजरको प्रतीक्षामा रहेका दर्शकलाई लक्षित गर्दै पोस्टरमार्फत पहिलो झलक सार्वजनिक गर्दै चलचित्रको आधिकारिक घोषणा गरिएको हो, जसले फिल्मप्रेमीहरूबीच उत्सुकता थप बढाएको छ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका यी दुई चलचित्रमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। चलचित्रको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ। कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद र निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। चलचित्रको छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीतकार भीम बिष्टले संगीत भर्नेछन्।
यस चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले चलचित्रको बजार विस्तार र पहुँचलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
पोस्टर सार्वजनिक भएसँगै ‘कालकट्टी’ ले कस्तो कथा, द्वन्द्व र सिनेम्याटिक अनुभव लिएर आउने हो भन्ने विषयमा दर्शकबीच चासो बढ्दै गएको छ। निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने जनाएको छ। ‘कालकट्टी’ को छायांकन सम्पन्न गरेपछि अर्को चलचित्र ‘काकाको बिहे’ को छायांकन सुरु गरिने तयारी गरिएको छ।


