काठमाडौं । यही माघ ९ गते (शुक्रबार) देखि देशभर प्रदर्शनमा आउन लागेको एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ को अग्रिम बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश चलचित्र हलहरूले फिल्मको प्रि–बुकिङ सुरु गरिसकेका छन् भने केही हलले बुकिङ खोल्न बाँकी रहेको जनाइएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले काठमाडौं र उपत्यका बाहिर गरी ३२ शो प्रदान गरेको छ। यस्तै, दोस्रो ठूलो चेन आईएनआई सिनेमाज ले १५ शो, वान सिनेमाज ले ९ शो, एफक्युब ले ४ शो र बिग मुभिज ले ३ शो उपलब्ध गराएका छन्। समाचार तयार पार्दासम्म ‘परिवर्तन’ले देशभर १०० भन्दा बढी शो पाइसकेको छ भने अझै केही हलहरूले बुकिङ खोल्न बाँकी छ।
फिल्मका गीत र ट्रेलरले पछिल्लो समय उल्लेखनीय चर्चा बटुलिरहेका छन्। विशेषगरी फिल्ममा समावेश ‘पाकेको चिउरी’ बोलको गीत दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ। यस्तै, ट्रेलरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।
फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’का निर्माता दीपक शिवाकोटी हुन्। शिवाकोटीकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा एसडी योगीको संगीत रहेको छ। द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका हुन्, जो पछिल्लो समय आफ्नो उत्कृष्ट कामका कारण चर्चामा छन्।
फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटल सहकार्यमा रहेको छ। ‘परिवर्तन’ यही माघ ९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउनेछ।


