काठमाडौं । आगामी फागुन १ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कल्ली’ को सम्पूर्ण छायांकन सकिएको छ। चोभारमा एक गीतको छायांकन सम्पन्न भएसँगै फिल्मको छायांकन औपचारिक रूपमा प्याकअप गरिएको निर्माणपक्षले जनाएको छ।
नायिका पूजा शर्माको आइटम डान्स दुई दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा सम्पन्न भएको निर्माता किरण नेपालीले जानकारी दिए। फिल्मको मुख्य छायांकन भने जुम्लामा गरिएको हो।
पूजाले ‘क्या राम्री’ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी छन्। आशिष अविरलको संगीत रहेको उक्त गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतमा आशिष अविरल र मेलिना राइको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको छ। गीत सुन्नेबित्तिकै मन परेकाले काम गर्न तयार भएको पूजा शर्माले बताइन्। विवाहपश्चात् उनले यही गीतमार्फत पहिलोपटक क्यामेरासामु नृत्य गरेकी हुन्। करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा आफू निकै उत्साहित भएको उनको भनाइ छ।
गीतको भिडियोमा पूजासँगै नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले पनि नृत्य गरेका छन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारको रहेको छ भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ। यस्तै, उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा देखिनेछन्।
निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको छ भने निर्माण प्रमुख सुरज आचार्य हुन्।
यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेको छ। देवता र राक्षसबीचको कथामा आधारित फिल्म ‘कल्ली’को यो गीत पनि छिट्टै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।


