काठमाडौं । निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार जसितासँग औपचारिक सम्झौता गर्दै उनलाई फिल्ममा भित्र्याएको हो।
यसअघि नै फिल्मका लागि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन्। जसिताको अपोजिटमा निखिल देखिने चर्चा चले पनि निर्माण पक्षले यसबारे औपचारिक पुष्टि भने गरेको छैन। अन्य कलाकारहरूको नाम पनि हालसम्म सार्वजनिक गरिएको छैन, जसका कारण फिल्मप्रति दर्शकमाझ थप कौतुहलता बढेको छ।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित फिल्म ‘पारस’मा निखिल उप्रेती र जसिता गुरुङको सम्भावित जोडीले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ। बाँकी कलाकारहरू को–को रहनेछन् भन्ने विषयमा निर्माण टिमले क्रमशः जानकारी दिने जनाएको छ।
निर्देशक कृषा चौलागाईँका अनुसार कलाकारसँग कागजी सम्झौता भइसकेको छ। उनले भनिन्,“फिल्मको कथाअनुसार नै कलाकार छनोट गर्दै अघि बढिरहेका छौँ।”
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको कथा तथा पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका हुन्। सिनेमाटोग्राफी (डीओपी) को जिम्मा चर्चित छायांकार पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्।
यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी कृषा चौलागाईँको यो तेस्रो निर्देशनात्मक फिल्म हुनेछ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी फागुन महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।


