काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’ ले सेन्सर पास पाएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो।
युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन्। निर्देशक चन्द्र पन्तले सेन्सर पास हुनु खुशीको विषय भएको बताउँदै चलचित्र पारिवारिक भावनामा आधारित भएकाले सबै दर्शकका लागि उपयुक्त रहेको बताए।
उनले भने, “चलचित्रको नाम नै ‘आ बाट आमा’ हो। हामीले सबै उमेरका दर्शकलाई लक्षित गरेर नै यो फिल्म बनाएका हौँ।”
चलचित्रको प्रचार–प्रसारलाई तीव्र बनाउँदै अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत भारतबाट नेपाल आएर प्रचारमा सक्रिय छन्। उनीहरूसँगै नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिमरन पन्त पनि प्रचार अभियानमा सक्रिय देखिएका छन्।
फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै लोकप्रिय बनिसकेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी देख्न सकिन्छ।अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ भने छायांकन नवराज उप्रेतीले गरेका हुन्।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको ट्रेलर र टिजर साहिल खानले तयार पारेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।



