काठमाडौं — निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक भावमा प्रस्तुत भएका छन्।
पोस्टरले चलचित्रमा उनीहरूबीचको प्रेमकथालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिने संकेत गरेको छ। यही चलचित्रमार्फत निर्देशक सिंह करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गर्दैछन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका थिए।
रेञ्ज ब्यानर अन्तर्गत निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको कथा तथा पटकथा स्वयं निर्देशक सुदीप भूपाल सिंह ले लेखेका हुन् भने निर्माता रुबी सेन सिंह हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठ ले गरेका छन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायतका विभिन्न स्थानमा गरिएको छ।
चलचित्रमा रणजीत गजमेर र बसन्त सापकोटा को संगीत रहेको छ। चलचित्रको आधिकारिक ट्रेलर आज सार्वजनिक हुँदैछ, जसलाई लिएर दर्शकमाझ उत्सुकता बढ्दै गएको छ।


