काठमाडौं: निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का कलाकार अनुबन्धित हुने क्रम जारी छ। यस फिल्मका लागि अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङ र प्रियंका कार्की अनुबन्धित भएकी छन्। प्रियंकालाई निर्माण पक्षले बुधबार फिल्मका लागि आधिकारिक रूपमा अनुबन्ध गरेको हो।
फिल्ममा निखिल उप्रेतीको जोडी जसिता हुने भन्ने चर्चा पहिले चलेको थियो। तर प्रियंका कार्की पनि फिल्ममा जोडिएसँगै को कसको जोडी हुने भन्ने विषयमा दर्शकमाझ उत्सुकता बढेको छ। निर्माण टिमले हालसम्म यसबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।
‘पारस’ एक्सन तथा सामाजिक कथामा निर्माण हुने फिल्म हो। निर्देशक कृषाले यस फिल्मलाई बबालै बनाउने तयारी गरेको देखिन्छ। निर्माण टिमले अहिलेसम्म निखिल, जसिता र प्रियंकाबाहेक अन्य कलाकारको विवरण सार्वजनिक गरेको छैन। निर्देशक कृषाले अन्य कलाकारको जानकारी क्रमशः सार्वजनिक गर्ने बताएकी छन्।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको पटकथा भारतीय पटकथाकार सचिन लादिया ले लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधान गर्नेछन्। निर्माण पक्षले फिल्मको छिट्टै छायांकन सुरु गर्ने तयारी गरेको छ।


