काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गर्दै अब पहाडी जिल्ला इलाममा पनि नयाँ चलचित्र घर सञ्चालनमा ल्याउने भएको छ। धरान र बुटवलपछि अब इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारदेखि हल सञ्चालनमा आउने जानकारी दिइएको छ।
फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार करिब साढे तीन करोड रुपैयाँ लगानीमा हल निर्माण गरिएको हो। एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता रहनेछ र चलचित्र विकास बोर्डबाट सञ्चालन अनुमति पनि प्राप्त भइसकेको छ।
तामाङका अनुसार ठूलो सहरमा मात्रै हल केन्द्रित हुने अवस्थालाई बदल्न पहाडी जिल्लामा पनि सिनेमा संस्कृतिलाई विस्तार गर्ने उद्देश्यले इलाममा हल खोलिएको हो। उनले बजार विस्तार गर्न प्रत्येक जिल्लामा सुविधासम्पन्न हल सञ्चालन हुनुपर्ने धारणा राखेका छन्।
उनले भविष्यमा अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने योजना रहेको बताउँदै नेपाली चलचित्रको बजार विस्तारका लागि घरेलु बजार बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार ठूला सहरबाहिर दर्शकलाई हलमा चलचित्र हेर्ने अवसर अझै पर्याप्त छैन र जिल्लास्तरमा साना–साना सिनेमा घर बढेमा घरेलु बजार दोब्बरभन्दा माथि जान सक्ने सम्भावना छ।


