काठमाडौं — अनमोल केसी को जन्मदिनको अवसर पारेर चलचित्र ‘बाटुलो जून’ को प्रदर्शन मिति घोषणा गरिएको छ। सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा बनेको फिल्म आगामी वर्ष २०८३ को दशैंको फुलपाती (असोज ३० / अक्टोबर १६) मा रिलिज हुने भएको हो।
पोस्टरमार्फत सार्वजनिक गरिएको फिल्ममा अनमोलसँगै प्रिन्सी खतिवडा फिचर्ड छन्। पूर्णिमाको जून पृष्ठभूमिमा देखाइएको पोस्टरमा अनमोल फरक अवतारमा प्रस्तुत भएका छन्।
जन्मदिनको अवसरमा पोस्टर सार्वजनिक गर्दै अनमोलले दर्शकलाई ‘दशैंमा भेटौंला’ सन्देश दिएका छन्।
ग्रामीण प्रेमकथामा आधारित फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। फिल्मलाई भुवन केसी ले निर्देशन गरेका छन्, जसमा उनी स्वयं पनि मुख्य भूमिकामा देखिनेछन्।
फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय रहेको छ।
काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायत स्थानमा छायांकन भइरहेको फिल्मको करिब १० प्रतिशत काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ।


