काठमाडौं, चैत्र १८ — नयाँ वर्षको छेको पारेर चैत्र २७ गते रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो प्रदर्शनमा आउने भएको छ। अन्य फिल्महरू पोस्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मले एक्लै रिलिज हुने अवसर पाएको हो।
फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत र टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायत कलाकारको अभिनय रहेको छ।
यसैबीच, दिव्या रायमाझीले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै आफू फरक भूमिकामा देखिन लागेको बताइन्। फिल्ममा उनले आधुनिक राजकुमारीको भूमिका निभाएकी छन्।
उनका अनुसार फिल्ममा एक्सन, इमोशन, सस्पेन्स र प्रेमको संयोजन रहेको छ। ‘मैले मेरो फिल्म भनेर भनेको होइन, फिल्म साँच्चै राम्रो बनेको छ,’ उनले भनिन्, ‘दर्शकले भरपुर मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वास छ।’
फिल्ममा दिव्या र सुशील श्रेष्ठको जोडी देखिनेछ। दिव्याले सुशीलसँग काम गर्न सहज भएको पनि बताइन्।उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मको पटकथा तथा संवाद निर्देशक माइकल चन्दकै रहेको छ।


