गोरखा । जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जान थालेका छन्। चुमनुब्री गाउँपालिका–७ का स्थानीयहरू एक साताअघिदेखि लेकतर्फ उक्लिन थालेका हुन्।
स्थानीयका अनुसार यार्सागुम्बा यहाँको प्रमुख आम्दानीको स्रोत भएकाले हिउँ पूर्ण रूपमा नपग्लिँदै पनि गाउँलेहरू लेकतिर लागेका छन्। तिब्बती सीमाना आसपासका छेके र बाजु क्षेत्रका लेकहरूमा पुगेर सङ्कलन गरिने यार्सागुम्बा बिक्रीबाट वर्षभरिको खर्च जुटाउने गरिएको छ।
लेक पुगेपछि करिब एक महिनासम्म पाल टाँगेर बस्ने प्रचलन छ। गाउँका वृद्धवृद्धा बाहेक अधिकांश परिवारका सदस्यहरू यार्सागुम्बा सङ्कलनमा जाने गरेका छन्। यस क्रममा याक, चौँरी र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गरिन्छ।
स्थानीय नियमअनुसार बाहिरी व्यक्तिलाई यार्सागुम्बा सङ्कलनमा निषेध गरिएको छ भने स्थानीयले समितिलाई जनही ५०० रुपैयाँ शुल्क तिरेपछि मात्र लेकमा जान पाउने व्यवस्था छ।
यस वर्ष भने बालबालिकाको पढाइमा सकारात्मक सुधार देखिएको छ। बुद्ध आधारभूत विद्यालयमा आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गरिएकाले अभिभावक लेकतिर गए पनि बालबालिका छात्रवासमै बसेर अध्ययन गर्न पाउने भएका छन्। यसले विगतमा जस्तो लामो समय विद्यालय बन्द हुने अवस्था हट्ने विश्वास गरिएको छ।


