काठमाडौँ, कात्तिक २२ गते । कुनै समय लक्ष्मीपूजाको साँझ घर घरमा बत्ती बाल्नसमेत विद्युत् आउने समय कुर्नुपर्ने अवस्था थियो । दैनिक १२ देखि १८ घण्टासम्मको लोडसेडिङले दैनिकी प्रभावित बनाएको नेपाली समाजमा तिहारको झिलिमिली पनि विद्युत् कटौतीको तालिकामा निर्भर हुन्थ्यो ।
तर २०७३ कात्तिक १४ गते देखिका लक्ष्मी पुज्ने औँसीले अँध्यारो झेल्नु परेन । गाईतिहारे औँसीमा काठमाडौँ पूरै बिजुलीले उज्यालियो । यो काठमाडौँ उज्यालिएको दिन मात्र थिएन, ‘लोडसेडिङमुक्त नेपाल’ बन्ने अभियानको ऐतिहासिक प्रस्थानविन्दु बनेको थियो । लोडेसेडिङ हटेको त्यो लक्ष्मीपूजाको आज एक दशक पूरा भएको छ ।
धेरैले पत्यार नगर्दानगर्दै पनि त्यस वर्ष लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकामा विद्युत् कटौती नगरी आपूर्ति व्यवस्थापन गरियो । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गरिएको उक्त प्रयास सफल भएपछि लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने विश्वास जागेको थियो । त्यसपछि क्रमशः काठमाडौँ उपत्यका हुँदै देशका प्रमुख सहर र औद्योगिक क्षेत्रमा समेत विद्युत् कटौती अन्त्य गर्ने अभियान अघि बढ्यो ।
उपलब्ध पूर्वाधार र विद्युत्को आपूर्तिलाई वैज्ञानिक व्यवस्थापन, कर्मचारीको साथले त्यो लक्ष्मीपूजादेखि नेपाल लोडसेडिङमुक्त अवस्थामा पु¥याउन सकेको स्मरण घिसिङको छ । सबैभन्दा धेरै विद्युत् माग हुने दिनका रूपमा त्यो लक्ष्मीपूजामा काठमाडौँ उपत्यकामा निर्बाध ३१५ मेगावाट विद्युत् आपूर्ति गर्न सक्दा नयाँ अभियानकै प्रस्थानविन्दु बन्न पुगेको थियो ।
त्यो एउटा लक्ष्मीपूजाको सफल व्यवस्थापन मात्रै थिएन, नेपालको ऊर्जा व्यवस्थापनमा आएको परिवर्तनको सङ्केत पनि थियो । विद्युत् अभावलाई नियति ठान्नुपर्ने अवस्थाबाट अहिले चाडपर्वमा समेत आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्थामा आइपुगेको छ ।
यस वर्षको लक्ष्मीपूजामा पनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट पुग्ने अनुमान छ । त्यस अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब दुई हजार पाँच सय मेगावाट हुने प्रक्षेपण छ । यस अनुसार अनुमानित मागभन्दा उत्पादन करिब आठ सय मेगावाट बढी हुने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिनको अनुमानित माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने बताउनुभएको छ । उत्पादन मागभन्दा बढी हुने भएकाले पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उहाँको भनाइ छ ।
“विद्युत् उत्पादनको अवस्था सहज रहे पनि चाडपर्वका समयमा वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या रोक्न प्राधिकरणले विशेष तयारी गरेको छ,” उहाँले भन्नुभयो, “तिहार तथा छठपर्वमा नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न चौबिसै घण्टा तयारी अवस्थामा छौँ ।”
यसका लागि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर पर्व अवधिको आपूर्ति व्यवस्थापन र सम्भावित चुनौतीबारे समीक्षा पनि भएको छ । प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे समन्वयसमेत गरिएको प्राधिकरणले जनाएको छ ।
तिहारमा घर घरमा झिलिमिली बत्ती, विद्युतीय सजावट तथा विभिन्न उपकरणको प्रयोग बढ्ने भएकाले केही सावधानी भने अपनाउन प्राधिकरणले आग्रह गरेको छ । घरमा प्रयोग हुने तार तथा विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।


