काठमाडौं ,कार्तिक १६
नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कप्तान करण केसीको आक्रामक ब्याटिङ र रसिद खानको अर्धशतकको मद्दतमा काठमाडौंले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
१८१ रनको लक्ष्य पछ्याएको काठमाडौंले करण केसीको उत्कृष्ट प्रदर्शनमा लक्ष्य पूरा गरेको हो । करणले २० बलमा ४४ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै, रसिद खानले अर्धशतक बनाए ।
काठमाडौंका लागि आदिल आलमले २०, डेभिड वार्नरले १६, स्मित पटेलले १० र भीम सार्कीले ५ रन बनाए । जहानदाद खानले १० बलमा आक्रामक २२ रन जोड्दा सन्तोष यादव ५ रनमा अविजित रहे ।
कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेन तलतले समान २ विकेट लिए । नन्दन यादव र मार्क वाटले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका लागि अरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाए । हुसेन तलतले ४० रनको योगदान दिए ।
त्यस्तै, पवन सर्राफले अविजित ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । दीपक डुम्रेले ८, जिशान आलमले ७ र सोमपाल कामीले अविजित १ रन जोडे ।
काठमाडौंका लागि करण केसीले २ विकेट लिए । शाह आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा जितविहीन रहेको काठमाडौंले यस जितसँगै पहिलो सफलता हात पारेको छ । यता, कर्णाली याक्सले भने यसअघि दुई खेल जित्दै ४ अंक जोडिसकेको थियो ।


