असार ८ , काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ । बुद्ध एयरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ ।
यस्तै यती एयरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, “भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं ।”गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।
संघले पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको थियो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको थियो । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउन सरकारले तत्काल पहल गर्नुपर्नेलगायत संघले माग गर्दै आएको छ ।


