नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माण काममा ढिलाइ भइरहेको र सरकारले तत्काल पुनर्निर्माण मापदण्ड ल्याउनुपर्ने बताउनु भयो ।
भूकम्प प्रभावित क्षेत्र चौरजहारी नगरपालिकाकाबासीसँग शनिवार अन्तरक्रिया गर्दै शर्माले पुनर्निर्माण विषयमा नयाँ तरिकाले जानुपर्ने बताउनु भयो। शर्माले केही दिनयता भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका पालिकाहरूमा पुगेर भूकम्पपछिको पुनर्निर्माणका सन्दर्भमा जनताहरूसँग अन्तरक्रिया गरिरहेका छन् ।
पुनर्निर्माण प्रभावित क्षेत्रको सापेक्षतामा आधारित हुनुपर्छ । घरको टहरा हाल्ने कुरा मात्र पुनर्निर्माण होइन, भूकम्पबाट त्रसित जनताको मनोविज्ञानलाई र यहाँको बेरोजगारीलाई अन्त्य गर्ने कुरासँग जोडी भौतिक पूर्वाधार समेत निर्माण गरिनुपर्छ उहाँले भन्नुभयो ।
शर्माले आर्थिक जीवनसँग जोडिएको, रोजगारीसँग जोडिएको समग्र प्लान बनाएर जानुपर्छ । मैले यो कुरा प्रधानमन्त्रीलाई समेत भनिसकेको छु । पहिलो कुरा मापदण्ड चाहियो, ०७२ को मापदण्डले अहिले हुँदैन । दुई खालका अनुदान सरकारले दिनुपर्छ । एउटा कृषि उत्पादनसँग जोडिने ऋण चाहिन्छ भने अर्को भूकम्प प्रतिरोधात्मक घर बनाउने तालिम चाहिन्छ, उहाँले भन्नुभयो।


