सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो ।

तर यता माओवादी केन्द्रबाट स्थानीय सरकार भएका अधिकांश पालिकाहरुले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ ।

नेपालको इतिहासमा नयाँ नेपालको जन्म र संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी र धर्म निरपेक्ष राज्य स्थापनाको लागि नेपाली जनताद्धारा गौरवपूर्ण लडिएको जनयुद्ध एक महत्वपूर्ण परिघटना भएकाले सोही दिनको स्मरणमा विगतदेखि नै लिम्चुङबुङ गाउँपालिकाको कार्यापालिकाले निर्णय गरी सार्वजनिक बिदा दिँदै आइरहेकाले यसपटक पनि माघ २५ को अध्यक्ष स्तरीय निर्णयअनुसार फागुन १ गतेलाई बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले जानकारी दिनु भयो ।
त्यस्तै सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते बिदा दिएको छ । माघ २८ गते अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।

यसअघि माओवादी केन्द्रबाट स्थानीय सरकार प्रमुख निर्वाचित भएका धेरैजसो गाउँपालिका र नगरपालिकाले फागुन १ गते बिदा दिइसकेको छ । जसमा गोराखाको अजिरकोट, भिमसेनथापा र गण्डकी गाउँपालिकाले पनि बिदा दिएको छ ।
यसैगरि काभ्रेको चौंरीदेउरली गाउँपालिकाले पनि बिदा दिएको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने घोषणा गरिसकेका छन् ।
संघ सरकारले गरेको बिदालाई सर्वोच्च अदालतले कटौती गरेपनि स्थानीय सरकारहरुले आफ्नो पालिकाहरुमा बिदा दिन पाउने व्यवस्था रहेको छ ।


