अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ।
शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना रहेको भन्दै ऊर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनुभयो।
पछिल्लो समय दक्षिण एशियाका देशमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको छ। जलविद्युत क्षेत्रमा भारतलगायत लगानीकर्ताको आकर्षण बढिरहेको छ । ऊर्जा क्षेत्रलाई अघि बढाउँदै ऊर्जामार्फत मुलुकमा आर्थिक समृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको छ । मन्त्री महतले भन्नुभयो, कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएको छ ।
मन्त्री महतले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धी खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले वन र वातावरण सम्बन्धी समस्या बारम्बार छलफल भइरहेको बताउनुभयो।


