सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै सङ्घर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताउनु भयो ।
मन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको बताउनु भयो । सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानबिनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्याउने र जनताको आशा, अपेक्षा र गुनासाहरूलाई सरकार समक्ष पुर्याउने कामका लागि सहजीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका सरकारी सञ्चार माध्यमहरू विगतका निरङ्कुश सरकारको पालामा रहेका जस्तो नभएको बताउनुभयो ।


