सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गर्नुभएको हो।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो।

महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो। थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताउनुभयो।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताउनुभयो।
महासमिति बैठकमा आज पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ। बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।


