प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सत्ता सहयात्री दलबाट सहयोग पाउन नसकेपछि राजनीतिक समीकरण फेर्नु परेको नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले बताउनु भएको छ । पोखरेलले आज धनगढीमा पत्रकारसँग कुराकानी गर्दै कार्यशैली कमजोर भएका मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहे पनि सम्बन्धित दलले नमान्दा गठबन्धन तोड्नु परेको बताउनु भयो ।
उपमहासचिव पोखरेलका अनुसार प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित अभियान सुरु गर्नुभएको हो, तर कतिपय मन्त्रीले त्यसमा न्यूनतम भूमिका पनि निर्वाह गर्न नसके पछि गठबन्धन तोडिएको हो ।
अर्थ मन्त्रालयको कार्यशैली पनि गठबन्धनमा समस्या आउनुको अर्को प्रमुख कारण रहेको पाखरेलले बताउनु भयो । अर्थमन्त्रीले प्रधानमन्त्रीसँग लय मिलाएर हिँड्न नसकेको पोखरेलको भनाइ छ । काँग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादी जनयुद्धलाई अपमान गरिनु पनि सत्ता गठबन्धन समस्या निम्त्याउनुको अर्को कारण बनेको पोखरेलको भनाइ छ । सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक पोखरेलले त्यहाँ पुग्नु भएको थियो ।


