उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । आज परराष्ट्रमन्त्री बेइजिङ प्रस्थान गर्नेछन् । भोलि १२ चैतमा चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गने कार्यक्रम छ । उनीहरूबीच बेइजिङमा बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री श्रेष्ठको बेइजिङ जाने तय भएको मन्त्रालयले जनाएको छ । श्रेष्ठ चैत ११ अर्थात् आजदेखि १९ गतेसम्म चीनको भ्रमणमा रहनेछ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
गत चैत १ गते नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बिआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएको थियो । बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ ।
चैत १३ गते त्यही बोआओ सम्मेलन पनि हुँदैछ । नेपाल त्यसको संस्थापक सदस्य हो । तर त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठ सहभागी हुनेछैनन् । परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाने चर्चा चलेपछि उनी बोआओ सम्मेलनमा नै सहभागी हुने कुरा आएको थियो तर उनी सो कार्यक्रममा सहभागी नहुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।


