राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो। माओवादी त्यागेर गत चैत ४ गते मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने भएको हो। रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ।
त्यसदिन सभापति रवि लामिछानेसहित पदाधिकारी इलाम २ पुग्दैछन्।
को हुन् मिलन?
मिलन लिम्बूले १५ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका छन्। मकालु टेलिभिजन हुँदै काठमाडौँको एबीसी र न्युज २४ मा काम गरेका उनी पछिल्लो तीन वर्षदेखि दृष्टि अनलाइन संस्करणको सम्पादक थिए।
३२ वर्षे मिलन इलाम–२ का स्थायी बासिन्दा हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका मिलनको परिवार सामान्य खेती किसानी गरिरहेको छन्।
आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिव समेत हुन उनी। केही साताअघि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले आफूले इलामका स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने बताएका थिए। उनले आफूलाई ‘अकबरे उम्मेदवार’ समेत भनेका थिए।
लगत्तै, उनी निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। इलामको माक्सेबुङमा बसोबास गर्दै आएका धर्मगुरु आत्मानन्द लिङ्देनको पनि उनले आशीर्वाद लिइसकेका छन्। लिङ्देनको पोल्टामा कम्तीमा ५ हजार भोट रहने चर्चा गरिन्छ।
कोसीमा चलिरहेको पहिचान पक्षधरको आन्दोलनको रापतापकाबीच लिङ्देनको भोटले पनि यो पटक असर पार्नसक्ने आम बुझाइ छ।


